सिरहा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) मधेश प्रदेशसभा र नेकपा एमालेको ११औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न सिरहा आउने भएका छन् ।
प्रधानमन्त्री ओलीले बिहान साढे १० बजे हेलिकप्टरमार्फत जनकपुर आइपुग्ने कार्यक्रम छ । त्यसपछि उनी मधेश प्रदेशसभामा पुगेर साढे ११ बजेबाट सभा सम्बोधन गर्नेछन् । प्रदेशसभा सम्बोधनको तयारीलाई भव्य बनाइएको छ । सभाहलमा कार्पेट बिछ्याउने, कुर्सीहरूको मर्मत सम्भार गर्ने, बाहिर गेट बनाउनेलगायतका कामहरू भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सम्बोधनपछि उनी नेकपा एमालेको ११औं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सिरहा सदरमुकामतर्फ प्रस्थान गर्नेछन् । अधिवेशनको उद्घाटन शत्र सिरहा सदरमुकाम स्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पस परिसरमा हुन लागेको छ । अधिवेशनमा प्रधानमन्त्री ओली र एमाले शीर्ष नेताहरु सहभागी हुने भएकोले जिल्ला कमितिले व्यापक तयारी गरेको छ ।
कार्यक्रममा हजारौँ कार्यकर्ता तथा समर्थकहरू सहभागी हुनेछन् । नेकपा एमाले मधेश प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठका अनुसार सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । जिल्लाका १७ वटै पालिकाबाट करिब ५० हजार कार्यकर्ता उतार्ने तयारी गरिएको छ । कार्यक्रममा अन्य पार्टीका हजारौँ समर्थक एमाले प्रवेश गर्ने अपेक्षा पनि गरिएको छ ।
सिरहाका कार्यवाहक जिल्ला अध्यक्ष डा.नविन कुमार यादवले पार्टी अध्यक्ष ओलीको आगमनका कारण अधिवेशनलाई विशेष र ऐतिहासिक बनाउने तयारी भइरहेको बताए । उनका अनुसार अधिवेशनले पार्टीको सांगठानिक सुदृढीकरण र आगामी रणनीतिहरूको निर्धारणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
कमला पुलदेखी चन्द्रमाविको छात्राबास अधूरो
प्रधानमन्त्री ओली सिरहा आउन लाग्दा पनि आफैले शिलान्यास गरेको योजना पूरा हुने नसक्दा उद्घाटन नहुने भएको छ । प्रधानमन्त्री ओलीले चन्द्र माध्यमिक विद्यालय सिरहामा पाँच तल्ले छात्राबास निर्माण कार्यको शिलान्यास २०७५ सालमा गरेका थिए । ६ वर्ष वितिसक्दा पनि छात्राबास निर्माण भूई तल्लामै अधूरो अवस्थामा अलपत्र रहेको छ ।
यस्तै आफैले घोषणा गरेको कमला पुल उद्घाटन २०७७ वैशाख १ मा गर्ने प्रतिबद्धता पूरा भएको छैन् । कमला पुल भाँसिएर अलपत्र परेको छ । अहिले सम्म पूल निर्माण पूरा नहुँदा नागरिक सास्ती भोग्न बाध्य छ ।