सिरहा: सिरहामा होली पर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले विशेष सुरक्षा योजना लागू गरेको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै दुर्घटना न्यूनीकरणका लागि २० स्थानमा ५९ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान सिरहाका प्रमुख पोषणराज थपलियाको नेतृत्वमा लहान, धनगढी, गोलबजार, मिर्चैया, सिरहा, भगवानपुरलगायतका मुख्य स्थानमा निगरानी बढाइएको छ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय सिरहाले ५५९ जना प्रहरी परिचालन गरेको छ। यसअन्तर्गत ११ वटा मोबाइल गस्ती गाडी, २६ मोटरसाइकल गस्ती, २४ स्थानमा चेकपोइन्ट, ६७ ठाउँमा पिकेट गस्ती तथा दुईवटा नागरिक सहायता कक्ष (मिर्चैया र लहान) स्थापना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानका अनुसार, होलीको उल्लासलाई शान्तिपूर्ण बनाउन मद्यपान गराएर सवारीसाधन चलाउने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने तथा आपराधिक गतिविधिमा संलग्न हुनेहरूमाथि कडा निगरानी राखिनेछ। सुरक्षाका यी उपायहरूले सिरहावासीलाई सुरक्षित वातावरणमा होली मनाउन सहयोग गर्ने बताए ।