सिरहा । सिरहा नगरपालिकाले नगर प्रहरी जवान पदका लागि भर्ना प्रक्रिया सुरु गरेको छ । पुरुष १५ जना र महिला ५ जना गरी कुल २० जना नगर प्रहरी जवानलाई करार सेवामा भर्ना गर्न यो प्रक्रिया अघि बढाइएको हो । शनिबारबाट सुरु भर्ना प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र निष्पक्ष बनाउने सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले प्रतिवद्धता व्यक्त गरेका छन् ।
नगरपालिकाले २०८१ साल भदौ १२ गते सेवा करारमा नगर प्रहरी नियुक्तिका लागि सूचना प्रकाशन गरेको थियो । सो पदपूर्तिका लागि ७९ जना इच्छुक व्यक्तिहरूले आवेदन दिएका थिए । कर्मचारी भर्नाका लागि प्रकाशित सूचना पश्चात करिब ५ महिनापछि यो भर्ना प्रकृया सुरु भएको हो । जसका लागि नगरपालिकाले गत पुष १४ गते सात दिने सूचनामार्फत उम्मेदवारहरूलाई शारीरिक तन्दुरुस्ती परीक्षणमा सहभागी हुन आह्वान गरेको थियो । सोही अनुसार, पुष २० गते शनिबारदेखि शारीरिक तन्दुरुस्ती परीक्षण सुरु भएको हो ।
उम्मेदवारहरू शारीरिक तन्दुरुस्ती परीक्षण, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको माध्यमबाट छनोट गरिदैछ । शारीरिक तन्दुरुस्ती परीक्षण सदरमुकाम सिरहामा रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा भइरहेको छ । यो परीक्षण तीन दिनसम्म सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन् ।
भर्ना प्रकृयाको पहिलो दिन, पुष २० गते शनिबार सिरियल नम्बर १ देखि ३० सम्मका उम्मेदवारहरुको शारीरिक तन्दुरुस्ती परीक्षण सम्पन्न भएको हो । यस्तै दोश्रो दिन आइतबार सिरियल नम्बर ३१ देखि ६० सम्मका र बाँकी सिरियल नम्बर ६१ भन्दा माथिका उम्मेदवारहरूको तथा भर्ना प्रकृयाको परीक्षण कार्यमा पहिलो र दोश्रो दिन उपस्थित हुन नसकेका उम्मेदवारहरूको परीक्षण सोमबार, पुष २२ गते बिहान ९ बजेदेखि हुने अधिकृत यादवले बताएका छन् ।
परीक्षणमा लामो र छोटो दूरीको दौड, तौल, उचाइ, र आधारभूत शारीरिक फिटनेसका विभिन्न मानदण्डहरू परीक्षण गरिदैछ । सो परीक्षणका लागि उम्मेदवारहरूलाई आफ्नो सक्कल प्रवेश पत्र, नागरिकताको परिचय पत्र, स्पोट्र्स जुत्ता, र हाफ प्यान्टसहित परीक्षणस्थलमा समयमै उपस्थित हुन आग्रह गरिएको छ ।
परीक्षण प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन नेपाल प्रहरीका अधिकारीहरू संलग्न छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षकको नेतृत्वमा १० जना प्रहरी अधिकारीहरूले शारीरिक तन्दुरुस्ती परीक्षण गरिरहेका छन् । यो कदमले उम्मेदवारहरूको क्षमता निष्पक्ष रूपमा मूल्यांकन गर्न मद्दत पुगेको अधिकृत यादवले बताएको छ ।
अधिकृत यादवका अनुसार यो भर्ना प्रक्रियालाई नगरपालिकाको सुरक्षालाई सुदृढ बनाउने मात्र नभई योग्य र सक्षम जनशक्ति छनोट गर्ने एउटा अवसरको रूपमा लिएको बताए । उनले भने, “भर्ना प्रक्रिया अत्यन्तै पारदर्शी र निष्पक्ष रूपमा सञ्चालन भइरहेको छ । योग्य नगर प्रहरी जवानहरूको छनोटले नगरपालिकाको सुरक्षा समस्या, शान्ति, सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका र प्रशासनलाई अझ बलियो बनाउनेछ ।”
नगर प्रहरीले भर्ना पछि नगरपालिकाभित्र शान्ति, सुरक्षा, र कानूनको पालना सुनिश्चित गर्ने काम हुने अधिकृत यादवले बताएका छन् । उनले यसले नागरिकहरूको सुरक्षामा विश्वास बढाउँछ र स्थानीय जनताको साथ सहयोग प्राप्त गर्न मद्दत गर्ने बताए ।
अधिकृत यादवले नगरपालिकाका सार्वजनिक सम्पत्ति, पार्क, भवन, र अन्य संरचनाको संरक्षण गर्न पनि नगर प्रहरीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनले नगर प्रहरीको उपस्थिति र निगरानीले स्थानीय अपराधहरू नियन्त्रण गर्न पनि सहयोग पुग्ने र यसले समुदायमा सुरक्षित वातावरण निर्माण गर्न मद्दत पुग्ने बताए ।
विपद् व्यवस्थापन र आपतकालीन अवस्थामा पनि नगर प्रहरीले तत्काल राहत र उद्धार कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अधिकृत यादवले बताए । नगर प्रहरीले समुदायका साना विवादहरू स्थानीय स्तरमै समाधान गरेर समाजमा शान्ति कायम गर्न मद्दत गर्ने उनले बताए ।
“नगर प्रहरीको सहयोगले नगरपालिका प्रशासनलाई आफ्नो काम प्रभावकारी रूपमा सञ्चालन गर्न सहज बनाउनेछ, अधिकृत यादवले भने, नगरपालिकाको योजना र नीतिहरूको कार्यान्वयनमा पनि नगर प्रहरीले सकारात्मक योगदान दिन सक्छ ।” सिरहा नगरपालिकाले सुरु गरेको यो भर्ना प्रक्रिया केवल कर्मचारी चयनको कार्यक्रम मात्र नभई नगरपालिकाको समग्र विकास र सुरक्षाका लागि आधारस्तम्भ सावित हुने अधिकृत यादवले बताए ।
योग्य नगर प्रहरी जवानहरूको उपस्थितिले नगरपालिकाको शान्ति, सुरक्षा, र सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने अपेक्षा उनको छ । पारदर्शिता र निष्पक्षताका साथ सम्पन्न यो प्रक्रिया स्थानीय सरकारप्रति जनताको विश्वास बढाउने एउटा महत्वपूर्ण कदम रहेको अधिकृत यादवको भनाइ छ ।