सिरहा । सिरहा जिल्लाको सदरमुकाम रहेको सिरहा नगरपालिकामा २२ वटा वडा छन् । लगडिगदियानी, लक्ष्मीनियाँ, सन्हैठा, लगडीगोठ र हक्परा गाउँ विकास समिति जोडिएर बनेको सिरहा नगरपालिकाको क्षेत्रफल ९४.२ वर्ग किलोमिटर रहेको छ । दक्षिणमा भारतीय सीमासँग जोडिएको यस नगरपालिकाको उत्तरमा विष्णुपुर गाउँपालिका र कल्याणपुर नगरपालिका पर्दछ भने पूर्वमा औरही र अर्नमा गाउँपालिका जोडिएको छ । पश्चिममा सिरहा र धनुषाको सिमाना रहेको कमला नदी पर्दछ । जिल्लाको सदरमुकाम समेत रहेको पुरानो नगरपालिका पनि हो सिरहा नगरपालिका । पुरानो भएपनि अहिलेसम्म सदरमुकामको हिसाबले विकास निर्माण लगायतको हिसाबले सिरहा नगरपालिकाले केही विर्षअघि सम्म गति लिनसकेको थिएन । तर नगरपालिकाको मेयरमा दोस्रो पटकको प्रयासमा मेयरमा निर्वाचित भएका चिकित्सक समेत रहेको डा. नवीन कुमार यादवले नगरको मुहार नै फेर्ने दिशामा अघि बढिरहेको छन् । नगरपालिकाभित्रका रहेको सामुदायिक विद्यालयको शिक्षा दिक्षा देखि लिएर भौतिक पूर्वाधारको क्षेत्रमा र जिल्लाका सदरमुकाम नगरपालिकाको केन्द्र सिरहा बजारको मुहार नै फेरिदै छ मेयर डा. यादवको प्रयासले । यस्ता अन्य कार्यहरु पनि मेयर डा. यादवले राम्रो गरेका हुन् । जुन त्यहाँका नगरबासीले नै प्रशंसा गरिरहेको छ । सोही सेरोफेरोमा रहेर मेयर डा. यादवसँग गरेका कुराकानीको सम्पादित अंश प्रस्तुत :
नगरबासीको लागि अहिलेसम्ममा के के गर्नुभयो ? कस्ता योजना तपाईको प्राथमिकतामा पर्छन् ?
२०७४ सालमा पहिलो पटक मेयरमा उम्मेदवार हुँदा १७४ मतले पराजित भएको थिएँ । पराजित भए पनि यहाँको विकास निर्माण, सामाजिक न्यायलगायत जनताको दुःख सुखमा साथ रहेँ । २०७९ को निर्वाचनमा जनताले विजयी गराएपछि अस्तव्यस्त रहेको सडक निर्माण कार्यलाई प्राथमिकता राखेर विकासलाई गति दिएका छौँ । सिरहा नगरपालिकाको २२ वटै वडामा १०० किलोमिटर पक्की सडक निर्माण गरिसकेका छाँै । यद्यपि अहिले पनि सडक निर्माणको कार्य पूरा भइसकेको छैन् । आफ्नो कार्यकालमा हिलो र धुलोमुक्त सिरहा नगरपालिका बनाई सुन्दर र समृद्ध सिरहा नगरको अवधारण लिएर अघि बढिरहेको छु ।
डाक्टर हुनुहुथ्यो राजनीतिमा आउनुभो ? नगरका स्वास्थ्य सेवालाई कतिको महत्व दिनुभएको छ ?
म एक बालरोग विशेषज्ञ चिकित्सकका रूपमा स्थापित थिएँ । मेरो पिता तत्कालीन सिरहा–३ बाट प्रतिनिधि सभामा नेकपा एमालेबाट निर्वाचित सांसद हेमनारायण यादवको हत्यापश्चात् जनताले मलाई राजनीतिमा तानेपछि केवल समाजसेवाको उद्देश्य लिएर म राजनीतिमा लागेको छु । स्वास्थ्य क्षेत्रको विकासका लागि सिरहामा रहेको प्रादेशिक अस्पतालको सेवा विस्तारका लागि प्रयास गरिरहेका छौँ । यसमा मधेश प्रदेश सरकारको पनि सहयोग रहेको छ । अहिले अस्पतालले गरिरहेको सेवाबाट यहाँका जनताले राम्रो सेवा पाइरहेका छन् । नगरमा १२ वटा स्वास्थ्य चौकी र आठ वटा आधारभूत अस्पतालमा आवश्यक पूर्वाधार, निर्माण र प्रभावकारी सेवाका लागि बजेट विनियोजन गरेर व्यवस्थित गर्न लागेका छौँ । म स्वयं केही समय छुट्याएर विपन्न गरिब दलितहरूका लागि निःशुल्क चिकित्सकीय सेवा प्रदान गर्दै आइरहेको छु ।
नगरपालिकाको भारतीय सीमासम्मको सात किलोमिटर सडक विस्तार गर्दा यहाँले के कस्ता चुनौती सामना गर्नुभयो ?
सात किलोमिटर सडक विस्तार गर्दा निकै चुनौती आए । सडक क्षेत्रमा पर्ने पक्की घर भत्काउँदा स्थानीयबाट सर्वोच्च अदालतसम्म मुद्दा प¥यो । अदालती र कानुनी लफडा आएपछि सडक विस्तारका लागि कठिनाइ उत्पन्न भए पनि स्थानीय विकासप्रेमी जनतालाई साथमा लिएर फराकिलो बनाउने कार्यमा सफल भएका छौँ । त्यतिबेला अवरोध गर्नेहरू अहिले राम्रै काम भएको रहेछ भन्न थालेपछि गौरवान्भूति भइरहेको छ ।
तपाईको नेतृत्वले शिक्षामा के कति परिवर्तन भयो ?
सिरहा नगरपालिकामा ५१ वटा सामुदायिक विद्यालय छन् । त्यसमा १५ वटा माध्यमिक विद्यालय रहेका छन् । उपत्यकाबाहिर विसं १९७२ मा सिरहा सदरमुकाममा स्थापित चन्द्र माध्यमिक विद्यालय पनि यहीँ छ । नगर प्रमुख निर्वाचित हुनुभन्दाअगाडि नै त्यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर प्राविधिक धारसहित नमुना विद्यालय बनाइसकको थिएँ । नगर प्रमुख भएपछि यस विद्यालयलाई प्रदेशकै सुविधा सम्पन्न विद्यालय बनाउन लागेका छौँ । शैक्षिक विकृतिहरू हटाउन, पाठ्यपुस्तकमा एक रूपता ल्याउन, विद्यालयका भौतिक र शैक्षिक विकासका लागि अघि अघि बजेट पछि पछि अनुगमन, विद्यार्थीलाई खाजामा पौष्टिक आहार र पोसाक उपलब्ध गराउनुका साथै निःशुल्क कोचिङ कक्षा र कम्प्युटर कक्षाको व्यवस्था गरेका छौँ ।
कृषि क्षेत्रमा किसानलाई राहत हुने कार्यमा कत्तिको ध्यान दिनुभएको छ ?
सिरहा नगरपालिकाको डेढ दर्जन वडा कृषक बाहुल्य वडा नै छन् । किसानले उन्नत जातको बिउ नपाएर र समयमा मलखाद उपलब्ध नहुँदा खेतीपातीमा निराशा छाएको छ । उनीहरूलाई बिउ र मलखाद सहज ढङ्गबाट उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ । सिँचाइका लागि खेत खेतमा हाते कलको योजना अगाडि बढिरहेको छ । दुई सय ठुलो बोरिङको व्यवस्था गर्ने योजनामा छौँ । कृषि मिटरको महसुल नगरपालिकाबाट बुझाउन गृहकार्य कृषि शाखाले गरिरहेको छ । कृषकले उत्पादन गरेका तरकारी आफ्नै ठाउँमा बिव्रmी गर्न सकून् भन्ने उद्देश्यले स्थानीय हाटबजार प्रवर्धनतर्फ पनि ध्यान दिएका छौँ ।
सहरी विकासका लागि आएको बजेट सहरी क्षेत्रको विकासमा कति प्रभावकारिता देखिएको छ ?
भारतीय सीमासँग जोडिएकाले सदरमुकामको विकासका लागि आउने बजेट दुई वर्षदेखि आउन बन्द भएको छ । विगतमा यस बजेटले राम्रै काम भएको थियो । पुनः सहरी क्षेत्रको बजेट ल्याउन सङ्घीय सरकारसँग पत्राचार गरिरहेका छौँ । सिराहाका सहरी क्षेत्रमा नाला निर्माण, सरसफाइ र स्वच्छताका लागि नगरपालिकाले आफ्नै बजेटबाट काम थालेर सुन्दर सिरहा कार्यव्रmम अन्तर्गत २२ वटै वडा वृक्षरोपण कार्यलाई निरन्तरता दिएका छौँ ।
सिरहा–७, महिसोथा जहाँ लोकनायक सलहेसको जन्मस्थल रहेको छ । धार्मिक पर्यटकीयस्थलको विकासका लागि के भइरहेको छ ?
सिरहा नगरपालिकामा सलहेस पर्यटकीय क्षेत्रको विकासका लागि सलहेसको मूर्ति, धर्मशाला निर्माणको कार्य अगाडि बढेको छ । अर्को वर्ष सलहेस मन्दिरमा प्राणप्रतिष्ठा गरेर आन्तरिक र वाह्य पर्यटक भिœयाउने कार्यमा लागेका छौँ । अर्को पर्यटकीयस्थल सारश्वनाथको मन्दिर क्षेत्रभित्र सौन्दर्यीकरण र पार्क निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
सुरक्षित आवासको कार्यक्रम कसरी अगाडि बढिरहेको छ ?
सिरहा नगरपालिकाको २२ वटै वडामा तीन सय घर सुरक्षित आवास अन्तर्गत निर्माण भएको छ । अझै चार सय घर निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग माग गरेका छौँ । विपन्न समुदायलाई नगरपालिकाबाट आइपर्ने प्राकृतिक विपत्तिबाट जोगाउन नगरपालिकाले प्रभावकारी कार्य गर्दै आइरहेको छ ।