सिरहा । गृहमन्त्री रवि लामिछानेलाई सिरहामा ट्राफिक प्रहरीले कडा चुनौती दिई रहेका छन् । गृहमन्त्रालको जिम्मेवारी दोस्रो पटक सम्हालेका गृहमन्त्री लामिछानेको सुशासन प्रवद्र्धन गरी नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न दिएको निर्देशन विपरीत सिरहामा ट्राफिक प्रहरी अवैध रुपमा असुलीमा जुटेका छन् । जिल्लाको सडक यातायातलाई सहज र सुरक्षित बनाउनु पर्ने ट्राफिक प्रहरी दैनिक, साप्ताहिक र मासिक रुपमा अवैध रकम असुल्नमा केन्द्रित भएको घटनाक्रमले देखाई रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दापनि अवैध रकम असुलीतिर बढी ध्यान दिने गरेको पाइएको छ । प्रहरी निरिक्षक डम्बर बहादुर पुरीको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुलीदेखि सार्वजनिक यातायात सञ्चालकसँग साप्ताहिक र मासिक रुपमा अवैध रकम असुल्ने गरेको छ ।
विशेषगरी ट्राफिक प्रहरीले साप्ताहिक र मासिक रुपमा रकम असुल्ने गरेपछि ओभरलोड गरी समान बोकेर जिल्लाको जुनसुकै बाटोमा गुड्ने टिपर/ट्रक, ट्याक्टरलाई रोक्ने गरेको छैन् । झन् ट्रली बाहिरै हुनेगरी राजमार्ग क्षेत्रबाट रड बोकेर विना सुरक्षा मापदण्ड अपनाई गुड्ने ट्याक्टरलाई पनि रोक्दैनन् । त्यसका अलावा म्याजिक भ्यान, वींगर, टेम्पुमा क्षमता भन्दा वढी यात्रा बसाल्ने गरेपनि ट्राफिक प्रहरी मुकदर्शक बनेको हुन्छ । यसले म्याजिक, टेम्पो, वींगर जस्ता सार्वजनिक यातायात मात्र नभएर क्षमता भन्दा वढी समान बोक्ने ट्रक, ट्याक्टर, टिपरलाई कुनै रोकावट हुँदैन् । यस्तो हुनुको मुख्य कारण साप्ताहिक र मासिक रुपमा अवैध रकम असुल्न पाईन्छ । जसले गर्दा नागरिकलाई सहज र सुरक्षित यात्रा गर्ने विषयमा ट्राफिक प्रहरी आफ्नो जिम्मेवारीवाट पन्छिदै आईरहकेको छ ।
‘थोरै सामग्री लोड गरेपछि मुनाफा कम हुन्छ, ओभरलोड गर्दा फाईदा वढी हुन्छ । बाटोमा पर्ने ट्राफिक पोष्टलाई साप्ताहिक र मासिक रुपमा पैसा दिनेगरी मिलाएर काम गाडी गुडाउँछौ,’ एक जना टिपर व्यवसायीले भने,‘हाम्रो बाध्यता बुझिदिनुहोस् । ओभललोड ल्याउन पाएर मात्र हामीलाई राम्रो हुन्छ ।
त्यसैगरी, पूर्व पश्चिम राजमार्गमा चल्ने हलुका यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीनपाङ्ग्रे सवारीसाधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुले मासिक रुपमा रकम बुझाएर नै चलाउने गरेको ती व्यवसायीले बताए ।
म्याजिक र वींगरहरुले क्षमताभन्दा बढी यात्री बोक्न पाउने सुविधा पाएपछि व्यवसायीसंघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम ट्राफिक प्रहरीलाई बुझाउँदै आएको नाम उल्लेख नगर्ने सर्तमा एक जना सवारी संघका पदाधिकारीले अपन दैनिकलाई बताएका छन् । ‘यसरी नै चल्दै आएको छ,’ उनले भने, ‘दक्षिणा नटक्र्याए विभिन्न बाहानामा दुःखदिने गर्छ । संघमा दर्ता रहेका सवै सवारीमालिकसँग थारैथोरै पैसा उठाएर ट्राफिक बुझाउँछौं ।’
ट्राफिक प्रहरीले मासिक रुपमा टिपरधनीसँग ५ हजारजति रकम लिने गरेको छ । त्यसका अलावा अन्य सवारीसाधनले ५ सयदेखि २ हजारसम्म ट्राफिक प्रहरीलाई मासिक रुपमा पनि बुझाउने गरेको छ ।
सिरहा जिल्लामा यसरी अवैध रुपमा ट्राफिक प्रहरीले असुली धन्दा चलाई रहँदा सुशासनको उद्घोष गरेका गृहमन्त्री छामिछानेलाई कडा चुनौती दिई रहेको जानकारहरु बताउँछन् । आफैं सञ्चारकर्मी हुँदा ट्राफिक प्रहरीले गरेको अवैध असुलीको पटकपटक विशेष रिर्पोटिङ गरेको वर्तमान गृहमन्त्री छामिछानले यसलाई रोक्न कडा पहल गर्नुपर्ने सिरहाका माओवादी केन्द्रका युवा नेता अरविन्द यादवले बताएका छन् । ‘गृहमन्त्रीजीले ट्राफिक प्रहरीको वेतिथिलाई रोक्न सक्रियता वढाउनु पर्छ । यस्तो समस्या सिरहामा मात्र सिमित छैन् । मधेशको जिल्लामा ट्राफिक प्रहरी को असुलीको कुरा पटकपटक सार्वजनिक भएको छ ।’
यो प्रकृया जिल्लाका सवै ट्राफिक पोष्टमा त जान्छ नै लहान देखि बर्दिवास सम्मका ट्राफिक मिलाउनु पर्ने बाध्यता रहेको व्यवसायीहरुको भनाइ रहेको छ । दिनभरी गाडी चलाएर ड्राईभर, खलासी, तेलको लागत कट्टा गरी मुस्किलले हजारदेखि पन्ध्रसय हात पर्ने गरेको लहान वर्दिबास चल्ने एक म्याजिक व्यवसायीको भनाई छ । ‘दिनभर सडकमा गाडी कुदेर घर फर्कदाँ आफ्नो हातमा पर्ने रकमको निश्चित हुँदैन । त्यसँगै सवारी गुडाउन सहज हुन्छ भन्दै संगठनमा रकम बुझाउनै पर्छ ।’
यता आर्थिक मन्दिका कारण मुस्किलले उद्योग चलाईरहेका सिरहाका इँटा व्यसायीहरु ट्राफिक प्रहरीको असुलि धन्दाको मारमा परेको बताएका छन् । उनीहरुले आफ्नो इँटा पुग्ने रुटमा सिजनको बेला प्रत्येक महिना एक हजार पाँच सयदेखि तीन हजार सम्म एउटा ट्राफिक विटमा बुझाउनु परेको गुनासो गर्छन् ।
‘थोरै इँटा लग्दा पोस आउँदैन, ड्राईभर तिनै पर्यो, तेल खर्च भईनै हाल्छ । अलिकति बढी लोढ गर्यो ट्राफिक मनाउनै पर्यो जताबाट पनि व्यवसायी नै मारमा पर्छन् ।’ एक इँटा व्यसायीले भने, ‘यस्तै हो सवैले चल्नै पर्यो मिलाएर काम गर्नै पर्छ । काम गर्ने भएपछि कतिसँग नियम कानुनको कुरा गर्दै हिड्ने ।’
सिरहामा ५५ भन्दा बढी इँटा उद्योगको करिव तिन सय ५० वटा ट्याक्टर नियमित चल्ने गरेको छ । त्यतिकै संख्यामा सीमेन्ट उद्योगमा चल्ने ट्रक, टिफर छन् । साना सबारीको संख्या भने हजारको आसपासमा रहेको व्यसायीहरु बताउँछन् ।
प्रत्येक ट्राफिक प्रहरी विटबाट असुल भएको अवैध रकम हाकिमलाई बुझाउने गरेको नाम नखोल्ने शर्तमा एक ट्राफिक प्रहरीले बताए । ‘ट्राफिक प्रहरीले जिल्लामा अवैध असुली गरेको रकम केन्द्रमा बस्नेलाई हाकिमहरुलाई पनि बुझाउनु परेको एक जना ट्राफिक प्रहरीले बताए ।
सिरहामा दिनहुँ ठूलो संख्यामा सानादेखि ठूला गाडीहरु क्षमताभन्दा बढी लोड गरी हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरूको आरोप छ ।
ट्राफिक प्रहरीले विद्युति भुक्तानी प्रणालि लागु भईसकेकाले अनाधिकृत रकम लिने कुरै नआउने दावी गरेको छ । ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरिक्षक डम्बर बहादुर पुरी त्यसरी अवैध रुपमा पैसा संलकनमा जुटेका ट्राफिक प्रहरीलाई कानुन अनुसार विभागीय कार्वाही हुने बताएका छन् । ट्राफिकले अवैध रुपमा सवारीधनीसँग रकम बुझ्ने कुरालाई पूर्ण रुपमा इन्कार गर्न सकेनन् ।