सिरहा । सिरहा नगरपालिकाको मुख्य प्रशासकीय भवनको निर्माण कार्य सुचारु भएको छ । भवन शिल्यानाश भएको ९ महिना पछि निर्माण कार्य सुरु भएको हो ।
नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्यको सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले गत जेठ १६ गते शिल्यानाश गरेका थिए । सुविधा सम्पन्न प्रशासकीय भवन नहुँदा सिरहा नगरपालिकाको विभिन्न शाखाको कार्य नगरपालिका वाहिर भाडाको कोठाबाट संचालनमा पनि आईरहेको छ । नयाँ निर्माण हुने प्रशासकीय भवनमा सिरहा नगरपालिका मातहत रहको शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न विषयगत शाखाहरुको अलग अलग कार्यकक्ष रह्नेछ ।
सिरहा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण ७ करोड वढीको लागतमा सम्पन्न हुने गरि निर्माणको सम्झौता भएको सिरहा नगरपालिकाले जनाएको छ । सुविधासम्पन्न प्रमुख प्रशासकीय भवन निर्माण कार्यको शनिवार मेयर डा यादवले भूमि पुजा गरेका छन् । प्रशासकीय भवनको भूमि पुजा गर्दै मेयर डा. यादवले भौतिक पूर्वाधारको अभावले प्रभावित हुँदै सेवा सुविधा सहज र छरितो हुने मेयर डा यादवले बताएका छन् । ‘नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भवनको महत्वपूर्ण भूमिका हुन्छ,’ मेयर डा यादवले भने,‘विकास निर्माणका काममा सबै एकजुट भएर अगाडि बढ्नुपछ ।’
भवनमा कुल ४२ वटा कोठा निर्माण हुनेछ । भवनमा मेयर र उपमेयरको अलग/अलग कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, सभाहल, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित विभिन्न विषयगत शाखाको सेवा एकै भवनबाट प्रवाह गराउन सकिने प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए ।
उक्त भवन निर्माणको ठेक्का भुमि ओम बुद्ध जेभिले ७ करोड १४ लाख ५ हजार ९ सय १२ रुपैयाँ ४९ पैसामा प्राप्त गरेको छ । तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई प्रमुख प्रशासकीय अधिकृत यादवले निर्देशन समेत दिएका छन् ।