सिरहा । सिरहा नगरपालिका वडा नम्बर २२ हकपारामा माटो र आमाको स्वास्थ्य सुधार अभियान ः भान्सा नै औषधालय सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासङ्घ नेपाल र जिल्ला कार्य समिति, मिर्चैया नगरपालिका ७, सिरहाको संयुक्त आयोजनामा शनिबार भएको कार्यक्रममा घरदैलोमा पाइने जडीबुटीको संरक्षण, प्रवर्द्धन र उपयोगिता, माटो र आमाको स्वास्थ्य सुधार सम्बन्धी जीवनोपयोगी शिक्षा प्रदान गरिएको छ ।
कार्यक्रम पश्चात् जनप्रतिनिधिहरू र विद्यालयका प्रतिनिधिहरूले अभिमुखीकरण कार्यक्रमबाट जीवनोपयोगी ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिनुभएको छ । आगामी दिनहरूमा विद्यालय क्षेत्रका सहपाठी र विद्यार्थीहरूलाई समेत आफूहरूले सिकेको ज्ञान बाढ्ने सामुदायिक विद्यालयहरूका प्रतिनिधिहरूको भनाइ छ । त्यस्तै, सिरहा नगरपालिकाका जनप्रतिनिधिहरूले भान्सा नै औषधालय कार्यक्रमलाई नीतिगत रूपमा कार्यान्वयन गरिने बताउनु भएको छ ।
अभिमुखीकरण कार्यक्रममा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव, उपमेयर बविता कुमारी साह, सोही वडाका वडाध्यक्ष जिवछ नारायण यादव, वडा सदस्यहरू, विषयगत शाखाका प्रमुख सहित कर्मचारीहरू, सामुदायिक विद्यालयका प्रमुख एवं प्रतिनिधिहरू सहभागिता रहेको थियो ।