सिरहा । सिरहा नगरपालिकाले आफ्नै पाठ्यक्रम निर्माणका लागि सम्बन्धित सरोकारवालाहरु बीच एक दिने गोष्ठी गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शनिबार स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी सरोकारवालाहरूको सहभागितामा आवश्यक छलफल तथा सुझाव संकलन गरेको हो । उपमेयर बबिता कुमारी साहको अध्यक्षतामा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका उपप्रध्यापक डा. इन्द्रमणि राई र रामबाबु मन्डलले स्थानीय पाठ्यक्रम सम्बन्धी गोष्ठीको उद्देश्य, उपादेयता, यसको निर्माण प्रक्रिया र सिरहाको अवस्थाका विषयमा सहजिकरण गरेका थिए ।
स्थानीय पाठ्यक्रम निर्माणका विषयमा सहभागिहरुले नगरपालिकाले पाठ्यक्रमको मर्म र भावना अनुसार स्थानीय पाठ्यक्रम निर्माण गर्ने प्रक्रियाका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए । सहभागिहरुले सिरहाको भौगोलिक, ऐतिहासिक तथ्य, जातीय, धार्मिक, साँस्कृतिक, पर्यटकीय क्षेत्र, ग्रामीण तथा कृषि पर्यटन लगायत आर्थिक पक्ष, स्थानीय प्रविधि, मूल्य र मान्यताहरू पाठ्यक्रममा समेटिनु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले सबैको विचार, भावना र सुझावहरू समेटेर सिरहाको मौलिक पहिचान र विशिष्टता झल्कने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिने बताए । उनले यो पहिलो चरण भएकोले यस प्रकारका छलफल र अन्तरक्रिया पुनः सञ्चालन गरिने र सबै तर्फवाट यथार्थ तथ्यांक र विवरण प्राप्त भएपछि सबैको अपनत्व रहने गरी गुणस्तरीय पाठ्यक्रम बनाउने प्रतिवद्धता जनाए ।
गोष्ठीमा सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसका प्रमुख रामहित यादव, क्याम्पसका अवकासप्राप्त प्राध्यापक चन्देश्वर प्रसाद यादव, प्रधानाध्यापक तथा शिक्षक वर्ग, समाजसेवी, बुद्धिजीवी शिक्षाविद् लगायतको सहभागिता रहेको थियो । नगर शिक्षा समितिबाट स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरी विधिवत रूपमा तथ्यांक संकलन र लेखन कार्य अघि बढाउने जनाएको छ ।