सिरहा । सिरहा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिम पराजित भएको छ ।
सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा भएको दशौं दिनको नगर स्तरीय फुटबल प्रतियोगितामा जनप्रतिनिधि र कर्मचारीबीच भएको मैत्रीपूर्ण खेलमा प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको टिमले मेयर डा नविन कुमार यादवको टिमलाई ट्राइब्रेकरमा ३–० ले पराजित गरेको हो ।
मेयर डा यादवको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत यादवको नेतृत्वमा कर्मचारीको टिमबीच प्रतिष्पर्धा भएको हो ।
मेयर डा यादवको टिममा मेयरसहित विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधि र प्रशासकीय अधिकृत यादवको टिममा कर्मचारी र वडा सचिव सहभागी थिए ।
मेयर डा नविन कुमार यादवले यो खेलले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
नगरमा जनप्रतिनिधि भएर आएको २० महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर नगर स्तरीय फुटबल प्रतियोगितामा भएको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने बताए । मेयर डा यादवले जनप्रतिनिधिहरु खेल हारेपनि फुटबल आयोजनाको उद्देश्य अनुरुप पूरा भएको उनले बताए ।
आज मंगलवार फाईनल खेल वडा नम्बर ७ राजा सलहेश र वडा नम्बर ९ ठेगंही टिमवीच हुने आयोजकले जनाएको छ ।
फाईनल खेलका विजेता टोलीले नगद ५० हजार र उपविजेता टोलीले २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुको साथै विभिन्न बिद्यामा उतकृष्ट हुने खेलाडीलाई नगद र ट्रफी प्रदान गर्ने आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । प्रतियोगिताको आर्थिक सहयोग सिरहा नगरपालिकाले गरेको छ । प्रतियोगितमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई अगामी दिनमा हुने अन्तराष्ट्रिय फुटबल खेलको लागि चयन गरिने आयोजकको तयारी रहेको छ । प्रतियोगितावाट २० जना खेलाडी चयन गरिने अध्यक्ष राजिपले बताएका छन् ।