सिरहा । युवाको सम्मान, नगरको पहिचान, स्थानिय स्तरमा खेलाडी उत्पादन हाम्रो अभियान भन्ने मूल नाराका साथ सिरहा नगरपालिकाको आयोजनामा नगर स्तरीय फुटबल प्रतियोगिता हुन गईरहेको छ । नगरस्तरीय फुटबल प्रतियोगिताको निम्ति सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिताको संयोजन गरिरहेको सलहेश युवा कल्वले जनाएको छ । सिरहा नगरपालिकाले नगरक्षेत्रका युवाहरुलाई समेट्दै फुटबल प्रतियोगिता गराउने र खेलाडी उत्पादन गर्ने लक्ष्य अनुसार प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको लागि सिरहा नगरपालिका क्षेत्रको २२ वडामध्ये १६ वटा वडाले आफ्नो सहभागिता जनाउने भएको छ ।
वडा नम्बर १, २, ५, १३, १५ र १७ बाहेक १६ वटा वडाबाट खेलाडीहरु छनौट गरी टिम बनाएर प्रतियोगितामा सहभागी हुन लागेको सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । सहभागी १६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन पुस २१ गते हुने भएको छ । उद्घाटन खेलमा वडा नम्बर ४ र वडा नम्बर १६ वीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको टाईसिट पनि सार्वजनिक गरिएको अध्यक्ष यादवले बताएका छन् ।
सिरहा सदरमुकाम स्थित सूर्य नारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको फाईनल खेल माघ २ मा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता हुने टोलीलाई नगद ५० हजार, मेडल, प्रमाणपत्र, ट्रफी प्रदान गरिने छ । यस्तै उपविजेता हुने टोलीलाई नगद २५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष यादवले बताएका छन् । प्रतियगिता बाट २० जना खेलाडी छनौट गरी प्रशिक्षण दिएर शहीद हेमनारायण गोल्ड कपमा सहभागी गराइने अध्यक्ष यादवले बताएका छन् ।
उत्कृष्ट खेलाडीहरुलाई मधेशको चर्चित फुटबल कल्व सलहेश युवा कल्वबाट विभिन्न प्रतियोगितामा खेल्न पाउने गरी आबद्ध गरिने अध्यक्ष यादवले बताएका छन् ।
स्थानीय खेलाडीलाई प्रवद्र्धन गर्न प्रतियोगिता : मेयर डा यादव
सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले आफूले घोषणा गरे अनुसार फुटबल प्रतियोगिता आयोजना गरिएको बताएका छन् । सिरहा नगरपालिकाका २२ वटै वडामा रहेका युवाहरुलाई खेलप्रति आकर्षित गर्न र भविष्यमा चर्चित खेलाडी उत्पादन गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना हुन लागेको मेयर डा यादवले बताएका छन् । लागुऔषधको दुरव्र्यसनमुक्त भएर खेलकुदमा भविष्य सुनिश्चित गर्न सकिनेतर्फ युवालाई आकर्षित गर्ने आफ्नो लक्ष्य भएको भन्दै मेयर डा यादवले २२ वटै वडामध्ये १६ वटाको मात्र सहभागिता हुन लागेको बताएका छन् । २२ वटै वडावाट खेलाडीहरुको सहभागिता हुनुपर्ने भएपनि समावेश हुन नसकेको वडाको विषयमा आफूले सम्बन्धित वडा समितिसँग सम्वय गरी आवश्यक पहल गर्ने बताएका छन् । यस प्रतियोगिताबाट कम्तिमा दुई वटा राम्रो फुटबल टोली घोषणा हुनेगरी पहिलो चरणमा खेलाडी समेत छनौट हुने मेयर डा यादवले बताएका छन् ।
खेलमा सहभागि हुँदा पूर्ण रुपमा अनुशासन कायम राख्नुपर्ने र अनुशासन विपरीतका कार्य गर्नेलाई तत्काल खेलबाट बाहिर गर्ने मेयर डा यादवले बताएका छन् ।