सिरहा । जिल्लामा सवारी दुर्घटना बढेसँगै सिरहा ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरणका लागि क्रियाशिल भएको छ । सिरहा चोहर्वा सडक खण्डको विभिन्न चौक तथा अन्य ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने कार्यलाई तिब्रता दिएका छन् ।
ट्राफिक प्रहरीले सिरहा चोहर्वा सडक खण्ड अन्तर्गत बलुवा चौक, विष्णुपुर, लक्ष्मीपुर, पद्मपुर, गुलरिया, सिरहा बजारको विभिन्न ठाउँमा निगरानी बढाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुका अनुसार हेल्मेट लगाए/नलगाएको तथा सवारीको कागजातलाई मिहिन रुपमा केरकार गरेका छन् ।
सिरहा ट्राफिक प्रहरी इन्चार्ज श्याम यादवका अनुसार ट्राफिक नियम पालन नगर्दा गएको केही दिनयता दैनिक ५ देखि १० जनालाई जरिवाना चिट काट्दै आएको छु । व्यक्तिले केही कुरामा सचेतना अपनाएर सवारी चलाए मात्र धेरैजसो दुर्घटना न्यून हुने उनको दाबी छ ।
‘जरिवाना भन्दा व्यक्तिलाई दिगो रुपमा सकारात्मक असर पर्ने गरी सम्झाउने, सचेत गराउने र राम्रोसँग सवारी चलाउन प्रेरित गर्ने कार्य गरिदै आएको छु,’उनले भने,‘व्यक्तिले सवारी चलाउदा मादक पदार्थको सेवनलाई पूर्ण बन्देजलाई व्यवहारमा ल्याउनुपर्ने हुन्छ ।’
खासगरी नवयुवाहरुले अनियन्त्रित तवरले सवारी साधन चलाउने गरेको देखिएको विष्णुपुर ट्राफिक प्रहरी इन्चार्ज प्रदिप श्रेष्ठ बताए । सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीसँगै समाजका अन्य पक्षका व्यक्तिहरुको जिम्मेवारी उतिकै भएको उनको धारणा छ । सवारी दुर्घटाना न्यून गर्न सबैले एकसाथ अगाडि बढ्नुपर्ने उनले बताए ।
कागजात नविकरण भए/नभएको, हेल्मेट लगाए/नलगाएको, सवारीको गति, क्रसिङ्ग, भार क्षमता लगायतका कुराहरुलाई विषेश ध्यानमा राखेर चालकहरुलाई सचेतना दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख डम्बर बहादुर पुरीले बताए । सवारी दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी सचेतना कार्यक्रम, युवा तथा यात्रु अभिमुखीकरण कार्यक्रम लगायत अन्य गतिविधि गरिदै आएको उनले दाबी गरे ।