सिरहा । गृहमन्त्री नारायण काजी श्रेष्ठले भासिएको कमला नदीको पुल निरिक्षण गर्दै तत्काल निर्माणको प्रतिबद्धता प्रकट गरेका थिए । गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता व्यक्त भएको कयौं महिना वितिसकेको छ । त्यसका बाबजूत भासिएको कमला नदीको पुल निर्माण नै रोकिएको छ ।
सिरहाको बसविट्टा र धुनषाको सघारा जोड्ने गरी हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा पक्क पुल निर्माण सुरु भएको १२ वर्ष पुगेको छ । १२ वर्षमा पनि यो पुल निर्माण पूरा हुन सकेको छैन् । गृहमन्त्री श्रेष्ठ जस्तै मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव मात्र होईन एकसे एक मन्त्री र नेताहरुले कमला नदीमा भासिएको पक्की पुल निर्माणको खोक्रो आश्वासन मात्र दिएका छन् । उनीहरुले दिएको आश्वासन कहिले पूरा हुने हो, त्यसको कुनै ठेगान छैन् । यस वीच हजारौं नागरिकले सास्ती र यातना खेप्नु परिरहेको छ ।
कमला नदी पारी अर्थात धनुषाको कमला नगरपालिका, सहिद नगरपालिकाको विभिन्न वडाको मुख्य बजार, शिक्षा आर्जन गर्ने थलोको रुपमा सिरहा सदरमुकाम नै रहेको छ । पुल बन्न नसक्दा त्यस क्षेत्रका विद्यार्थीहरु राम्रो पठनपाठनबाट बञ्चित भईरहेको कमला नगरपालिका–५ का अशोक यादव बताउँछन् । सरकारले उदासिनताले कमला नदीमा पुल निर्माण रोकिएको भन्दै यादवले केन्द्र सरकारले वेवास्ता गरिरहँदा प्रदेश सरकारले पनि आफ्नो नागरिकलाई यातायातको सहजताको निम्त विकल्पमा अगाडी बढ्नुपर्ने बताए ।
सिरहा सदरमुकामबाट प्रदेशको राजधानी जनकपुरधाम पुग्न हुलाकीराजमार्गबाट ३२ किलोमीटर मात्र लाग्छ । पुल निर्माण हुन नसक्दा चारपाङे सवारीसाधन पूर्वपश्चिम राजमार्ग भएर ९० किलोमीटरको यात्रा गरी जनकपुरधाम पुग्नुपर्ने बाध्यता रहेको सिरहाका नागरिक अगुवा रामकिशोर यादवले बताए । पुल निर्माण समयमै भईदिदा यात्रा दुरी घट्ने, समय कम लाग्ने र आर्थिक नोक्सानी पनि कम हुने उनको विश्लेषण छ ।
पप्पु कन्स्ट्रक्शन लुम्बिनी बिल्र्डस जेवीले सुरु गरेको यो पुल निर्माण २०६८ सालदेखि भईरहेको छ । १२ वर्ष पुग्दा पनि पुल निर्माण पूरा भएर यातायात संचालन हुने अवस्थामा छैन् । दुई वर्ष अघि आएको वाढीले निर्माणधीन पुलको पूर्वपट्टी सिरहातर्फको पहिलो पायर भासिएको थियो । त्यसको तीन महिनापछि धनुषापट्टीको अर्को पायर भासिएको छ । जसले गर्दा सहजत आवत जावत हुने र आर्थिक गतिविधिसँगै शैक्षिक गतिवधि पनि वढ्ने अपेक्षामा रहेको धेरैलाई घात भएको छ । सरकारले यस विषयमा छानबिन पनि गरेको छैन् भने दुई वर्षदेखि अलपत्र रहेको छ ।
पुल अलपत्र हुँदा सिरहाबाट धनुषा र धनुषावाट सिरहा आउजाउ गर्नेलाई लामो र कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । अहिले पुल भासिएको कमला नदीमा बाँसको अस्थायी पुल बनाईएको छ । जोखिम मोलेर बासको अस्थायी पुलबाट ओहोरदोहार गर्नुपर्ने बाध्यता रहेको सिरहा नगरपालिका–६ बसविट्टाका रामचन्द्र यादवले बताएका छन् ।
महापर्व छठपछि पुल निर्माणको काम अगाडी बढाउने निर्माण कम्पनी लुम्बिनी बिल्र्डसले गरेको घोषणा पनि झूठो साबित भएको छ । लुम्बिनी बिल्र्डसले पछिल्लो समय पुल निर्माणको काम गर्दै आएको थियो । पुल भासिएपछि लुम्बिनी बिल्र्डसले पनि काम रोकेर मौन बसिदियो । जसले गर्दा आर्थिकसँगै समयको क्षति यस क्षेत्रका नागरिकलाई भईरहेको छ ।