सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले आफ्नो मातृभाषाको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।
सिरहा पुस्तकालयले आयोजना गरेको विद्यापति स्मृति पर्व समारोह–२०८० मा प्रमुख अतिथि रहेका मेयर डा यादवले आफ्नो मातृभाषाको संरक्षण गर्न जरुरी रहेको बताएका छन् । ‘म चाहन्छु, हाम्रो भाषा, संस्कृतिको संरक्षण हुनुपर्छ,’ मेयर डा यादवले भने, ‘यस क्षेत्रमा हामी अत्याधिक कमजोर छौं । अब स्थानीय पाठ्यक्रममा समावेश गर्न जरुरी छ ।’
मधेश प्रदेश सरकारले चाँडै प्रदेशको कामकाजको भाषा तय गर्नुपर्ने भन्दै मेयर डा यादवले आफ्नो मातृभाषालाई वढावा दिनेगरी प्रदेश सरकारले आवश्यक नीति र निर्णय गर्नुपर्ने बताएका छन् ।
विद्यालयका शिक्षकहरुले स्थानीय पाठ्यवस्तुलाई समावेश गरी पठनपानलाई अगाडी बढाउनु पर्ने भन्दै मेयर डा यादवले सिरहा नगरपालिकाले नगरक्षेत्रमा स्थानीय विषयवस्तुलाई समेट्दै विभिन्न योजनाहरु ल्याउने तयारीमा रहेको बताएका छन् । आफू नेतृत्वमा पुगेका डेढ वर्षमा धेरै काम गरेको तर त्यसको प्रचार प्रसार नभएको भन्दै मेयर डा यादवले शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै काम भईरहेको बताएका छन् ।
शिक्षक, कर्मचारीहरुले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्नुपर्नेमा जोड दिदै मेयर डा यादवले आफ्नो योजना अनुसारको कामहरु हुन अझ केही समय लाग्ने बताएका छन् । सिरहालाई साँच्चिकै परिवर्तन भएको देखाउन हरेक क्षेत्रमा काम भईरहेको भन्दै मेयर डा यादवले आफ्नो नीजि स्वार्थवाट माथि उठेर अगाडी बढ्न सवैलाई आग्रह गरेका छन् ।
कवि वाचन
सिरहा पुस्तकालयका अध्यक्ष सुरेन्द्र कुमार कामतिको अध्यक्षतमा सम्पन्न भएको स्मृति समारोहमा अवकासप्राप्त प्राधानाध्यापक वरिष्ठ नारायण झा र रामसेवक सिंहले कविता वाचन गरेका थिए । यस्तै अवकासप्राप्त सिरहा क्याम्पसका प्राध्यापक उमेश कुमार झा ललन, चन्देश्वर प्रसाद यादव, अभियन्ता एवं लेखक रामरीझन यादव, महिला नेतृ देवधारी यादव, सिरहा पुस्तकालयका सदस्य रामकिशोर यादव, वरिष्ठ पत्रकार अनिरुद्र ठाकुर, कलाकार एवं राजनीतिकर्मी राजकुमार त्यागी, बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष नविन कुमार यादव, कवि लक्ष्मण रनै, सिरहा पुस्तकालयका उपाध्यक्ष भोगेन्द्र साह लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मैथिली साहित्य परिषद गठन
यसै अवसरमा मैथिली साहित्य परिषद पनि गठन गरिएको छ । अभिन्ता एवं लेखक रामरीझन यादवको संयोजकत्वमा ९ सदस्यीय विधायन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा चन्देश्वर प्रसाद यादव, अनिरुद्र ठाकुर, जिवछ उदासी, परशुराम साह, देवधारी यादव, दिपेन्द्र यादव, लक्ष्मण रनै र मो. नैयूम राईन रहेका छन् ।