सिरहा । मधेश प्रदेशको चर्चित फुटबल क्लबको रूपमा चिनिएको सलहेश युवा क्लबको नेतृत्वमा चयन गरिएको छ।
क्लबको सदरमुकाम सिरहामा भएको पहिलो अधिवेशनले कार्यसमितिमा सदस्य संख्या थप गरी सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।
क्लबको वार्षिक दोस्रो साधारणसभा तथा अधिवेशनले समितिको अध्यक्षमा राजीवकुमार यादवलाई सर्वसम्मत रूपमा पुनःनिर्वाचित गरेको छ।
यस्तै वरिष्ठ उपाध्यक्षमा अमरनाथ साह, उपाध्यक्षमा अशोक कुमार यादव, नागेश्वर प्रसाद यादव, महासचिवमा कृष्ण कुमार यादव, सचिवमा प्रदिप कुमार यादव, कोषाध्यक्षमा सुनिल कुमार यादव सर्वसम्मत रुपमा चयन गरिएको छ ।
यस्तै, सदस्यहरूमा जितेश कर्ण, सुशीलकुमार कर्ण, सुशीलादेवी साह, श्वेताकुमारी यादव, रामभरोस यादव, जितेन्द्रकुमार झा, सरोज राणा, प्रमोदकुमार यादव सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन अधिकृत वासु श्रेष्ठले बताएका छन्।
यसअघि सलहेश युवा क्लबको ११ सदस्यीय कार्यसमिति रहेको थियो। अधिवेशनको सिरहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादवले उद्घाटन गरेका थिए।
व्यावसायिक फुटबललाई नेतृत्व गर्दै सलहेश युवा क्लबले नेपाल र भारतका विभिन्न सहरमा भएको प्रतियोगितामा सहभागी भई खेलेका ७८ मध्ये ७२ वटा खेलमा जित हासिल गरेको छ।
मधेश प्रदेशको चर्चित फुटबल क्लबमा सलहेश युवा क्लबसँगै वीरगन्ज युथ एकेडमी र बागमती युवा क्लब छन्।