सिरहा । तस्करीको लाइन खुलाएको प्रमाण भेटिएपछि सिरहा र रुपन्देहीका एसपीको पद धरापमा परेको छ । प्रहरी प्रधान कार्यालयले सिरहाका एसपी टेकुनन्द लिम्बु र रुपन्देहीका भरत विकलाई हटाउने तयारी गरेको हो । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई हटाउन गृह मन्त्रालयसँग सहमति मागिसकेको स्रोत बताउँछ ।
आन्तरिक छानबिनमा दुवै एसपीले सीमा नाकाबाट तस्करीमा संलग्न गिरोहलाई साथ दिएको खुलेको छ । सचेत गराउँदा पनि नसुध्रिएपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर उनीहरुलाई हटाउने तयारीमा छन् । कुँवर हाल बेलायत भ्रमणमा छन् । स्वदेश फर्किएलगत्तै कमजोर कार्यसम्पादन भएका जिल्ला इन्चार्जहरुलाई हटाउन लागिएको छ ।
सिरहाका एसपी लिम्बुसँग फिल्डमा काम गरेको अनुभव छैन । उनी लामो समय बिशेष ब्यूरोमा बसे । जहाँ उनको हिमचिम बढी विदेशीसँग हुन्थ्यो । अवकाश हुने समय नजिकिएपछि उनी यतीबेला कमाउनतर्फ केन्द्रीत भएका छन् । यसअघि नै उनको सरुवा हुन लागेपनि एआइजी टेकप्रसाद राईले त्यतीबेला रोकेको स्रोत बताउँछ ।
त्यस्तै, रुपन्देहीका एसपी विकले पनि घुुमवामार्फत तस्करीलाई सघाइएको पाइएको छ । दैनिक पुलिसिङमा पनि धेरै गुनासो र उजुरी परेपछि उनलाई पनि हटाउन लागिएको छ । त्यस्तै, धनुषाका एसपी विश्वराज खड्का, झापाका दुर्गा रेग्मी लगायत अन्य केही जिल्ला इन्चार्जलाई भने प्रहरी प्रधान कार्यालयले निगरानीमा राखेको छ ।
सभार : अनलाइन नेपाल