सिरहा । कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिरहा सवैभन्दा पुछारमा परेको छ ।
गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरेर ९० भन्दा माथि अंक ल्याउँदै ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु अति उत्कृष्टको सूचीमा परेपनि जिल्ला प्रशासन कार्यालय सिरहा पुछारमा अर्थात ७७ स्थानमा परेको छ ।
३० वटा प्रशासन कार्यालयहरु ८० देखि ९० अंकसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका छन् । बाँकी १४ जिल्ला प्रशासन कार्यालयहरु ‘उत्तम’ कार्यसम्पादनको सूचीमा छन् ।
गृहमन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय गुल्मी ९६.४४ अंक ल्याएर पहिलो स्थानमा रहेको छ । यता जिल्ला प्रशासन कार्यालय सिरहा ६१.५६ अंकसहित अन्तिम स्थानमा छ । यसले जिल्ला प्रशासन कार्यालय सिरहाले मूल्यांकन सम्झौता अनुसार काम गर्न नसकेको देखिन्छ । देशभरमा सवैभन्दा पुछारमा पर्नुले जिल्ला प्रशासन कार्यालयको काम गराईप्रति प्रश्न पनि उठेको छ ।
नागरिकलाई सहज र छरितो सेवा प्रवाह गर्नुपर्ने भएपनि जिल्ला प्रशासन कार्यालय सिरहा अन्तिममा पर्नुले नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारीहरुसँगै जिल्ला प्रशासन कार्यालय सिरहाको कर्मचारीको काम गराई शैलीमाथि प्रश्न उठेको छ ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेले पहिलाको सिडियोहरुले समयमा काम गर्न नसक्दा त्यस्तो भएको बताएका छन् । गृहमन्त्रालयले दिएको निर्देशन अनुसारको काम गराईमा तिव्रता ल्याएको र अगामी आर्थिक वर्षमा सुधार हुने विश्वास व्यक्त गरेका छन् । प्रशासन लगायत जिल्लाको सम्रग शान्तिसुरक्षा, कार्यालयहरुको कामहरुको वारेमा पनि यस्तो भएको हुन सक्ने भन्दै प्रजिअ पाण्डेले आफू आएदेखि यसमा सुधार गर्नेतर्फ केन्द्रित भएर काम गरिरहेको बताएका छन् ।
यता जानकारहरुले जिल्ला प्रशासन कार्यालयको काम गराई नै राम्रोसँग नहुँदा जिल्लाको वेज्जत हुनुपर्ने अवस्था आएको जनाएका छन् । ७७ जिल्लामध्ये सिरहा जिल्ला पुछारमा पर्नुले सिरहा जिल्ला प्रशासन कार्यालयको काम गराई निकै प्रश्न उठाएको स्थानीयहरुले बताएका छन् । जिल्लाको नामलाई यसरी प्रशासकहरुले बदनाम हुनेगरी काम गर्न नहुने र सुधारतर्फ केन्द्रित भई सेवा प्रवाहमा जुट्नु पर्ने धारणा राखेका छन् ।
हेर्नुस् मूल्यांकनको नतिजा