जनकपुरधाम । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि जनकपुरधाममा विजयादशमी लक्षित सस्तो बजार लाग्ने भएको छ।
यस अघिका धनुषाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा लाग्ने मेला यस वर्ष उद्योग वाणिज्य संघको अध्यक्षता र अगुवाइमा लाग्ने भएका छन्।
शनिबार बसेको सर्वदलीय बैठकमा बजारको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीको अगुवाइमा हुने छ भने धनुषाका सिडिओ, जनकपुरधामका मेयर, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, नेपाल पत्रकार महासंघका अध्यक्ष सम्मिलत संरक्षक तथा सल्लाहकार समिति थप गठन गरि बजारको अभिभावकत्व प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए।
यद्यपि उनले जनकपुरधामका मेयर र नेपाल पत्रकार महासंघका अध्यक्षसँग सो विषयमा सहमती लिन बाँकी रहेको समेत बताए।
अध्यक्ष महासेठले बजार व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू समेत गठन गर्ने निर्णय भएको बताए।
असोज २८ गते घटस्थापनाका दिन देखि कार्तिक ५ गते अष्टमीसम्म गोपाल धर्मशालामा बजार लाग्ने जहाँ दैनिक उपभोग्य, चाडपर्वका सरसमान देखि विभिन्न समानहरू सुपथ र सुलभ तरिकाले एकै ठाँउमा उपलब्ध हुनेछन्।