तौलिहवा, असोज १० गते । कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, घरेलु तथा साना उद्योग कार्यलय र कपिलवस्तु नगरपालिकाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।
अनुगमनको क्रममा बजारमा अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाइ नभएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहालले बताउनुभयो । अखाद्य तेल १५ लिटर र लेबल नलागएको वस्तु जफत गरी नष्ट गरिएको उहाँको भनाइ छ । किराना पसलहरुमा अखाद्य वस्तु नबेच्न र होटल तथा चिया नास्ता पसलमा सरसफाइ बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको प्रमुख दाहालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका नायब सुब्बा बाबुराम शर्माका अनुसार तौलिहवा बजारमा करिब दुई दर्जन होटल, रेष्टुरेण्ट, मिठाई, किराना पसलहरुमा अनुगमन गरिएको बताउनुभयो । म्याद सकिएका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकालाई जरिवाना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बजार अनुगमन नियमित कार्यक्रम भए पनि जनगुनासो बढेकाले अनुगमनमा कडाइ गरिएको छ ।’’
यस्तै, घरेलु तथा साना उद्योगका श्रवणकुमार शैनिका अनुसार मूल्यसूची नभएकालाई मूल्यसूची राख्न र व्यवसाय विना दर्ता सञ्चालन गर्नेलाई दर्ता गर्न निर्देशन दिएको बताउनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको प्रशासनले जनाएको छ ।
अनुगमनको क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका सरोज खनाल, कपिलवस्तु नगरपालिकाका अधिकृत विनोद कुँवर प्रहरी लगायतको सहभागित थियो ।